गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले संस्थाभित्रको कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । संस्थामा धेरै कमजोरी भएको र ती कमजोरीलाई परराष्ट्र मन्त्रालयले सच्याउन सचेत गराएको बताउँदै आचार्यले संस्थाभित्रका बद्मासी मान्छेहरुले आफ्नो कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाएको बताउनु भएको हो ।

‘म उहाँहरुलाई पहिला आफूलाई ऐनमा हेर्न अनुरोध गर्न चाहान्छु । अरुलाई आरोप लगाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास नगरौ’, आचार्यले विश्व सन्देशसँगको कुराकानीमा भन्नु भयो, ‘गल्ती कमजोरीहरु धेरै भएका छन् तिनलाई सुधार्ने प्रयास गरौ, यदी त्यस्तो नगरिए संस्था कमजोर हुन्छ । भोली संस्थामा आउँदा पनि राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्छ । त्यसैले राजनीतिक हस्तक्षेप भयो भनेर आरोप लगाउनु संस्थाको लागि हितकर छैन ।’

कुनै गल्ती नभएसम्म परराष्ट्र मन्त्रालयले सचेत नगराउने बताउँदै आचार्यले गल्ती सुधार गरे समस्याको समाधान हुने बताउनु भयो । गल्ती. अनियमितता भए पछी अभिभावकले गल्ती सच्याउ र अबदेखी गल्ती नगर भनेर सचेत मात्र गराएको उहाँको भनाइ छ ।

मन्त्रालय र सरकारलाई विवादमा ल्याउन नहुनेमा जोड दिर्दै उहाँले भन्नु भयो, ‘परराष्ट्र मन्त्रालयले केही कुरा एनआरएनलाई सोधेको छ भने पक्कै पनि कानुन सम्मत तरिकाले नै सोधेको हुनुपर्छ । गल्ती सच्याए समस्याको समाधान निस्किहाल्छ ।’

उहाँले थप्दै भन्नु भयो, ‘तथापी म निवेदनकर्ता नभएको हुनाले मैले धेरै बोल्ने आधार रहँदैन । तर के लाग्छ भने अनियमितता भएका कुरा, बिधान विपरित नियमावली बनाउने कुरा, धाँधली भएका कुराहरु सच्याउँ ।’

त्यस्तै, उहाँले चुनाव समयमै हुनुपर्नेमा समेत जोड दिनु भयो । चुनाव एक दिन पनि सार्नु हुँदैन भन्ने पक्षमा आफू रहेको बताउँदै संस्थाभित्रका अनियमितता सच्याएर निर्धारित मितिमै चुनाव हुनुपर्ने आचार्यको भनाइ छ ।


प्रकाशित | ३० भाद्र २०७८, बुधबार १०:५१