एनआरएनएमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : डा.बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा राजनीतिक हस्तक्षेप भइरहेको  भन्दै त्यसको कडा शब्दमा निन्दा गर्नु भएको छ । डा. केसीले एनआरएनए जस्तो प्रवित्र संस्थामा राजनीतिक हस्तक्षेप भइहेकोमा कडा शब्दमा निन्दा गर्नु भएको हो ।

डा. केसीले कमजोर उम्मेदवारहरुले राजनीतिक दलका नेता गुहारिरहेको बताउँदै संस्थामा राजनीतिक हस्तक्षेप स्वीकार्य नभएको टिप्पणी गर्नु भयो । एनआरएनमा चुनाव जित्नैका लागि राजनीतिक नेता गुहार्नु लज्जास्पद भएको उहाँको भनाइ छ ।

एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैर आवासीय संघका भावी कार्यक्रमबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य प्रति लक्षित गर्दै  केसीले भन्नु भयो, ‘एकपटक पराजित भएपछि अर्को पटक जित्नका लागि राजनीतिक दलको टिका लगाएर निर्णय गराउन जाने गरिएको छ। यो गलत हो । यो कुनै पनि हालतमा स्वीकार्य छैन।’

नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको बताउँदै केसीले भन्नु भयो, ‘उहाँहरुसँगको भेटमा मैले चुनाव जित्नका लागि तपाइहरूसँग सहयोगको याचना गर्ने उम्मेदवारहरुलाई मतदाताहरूसँग जान सुझाव दिनुहोला भन्ने गरेको छु ।’

डा. केसीले राजनीतिक हस्तक्षेप र आर्थिक चलखेल रोक्न अनलाईन भोटिङको व्यवस्था मिलाइएको पनि बताउनु भयो । लाप्राक बस्ती हस्तान्तरण, एनआरएनए फाउन्डेसन तथा विदेशमा रहेका बौद्धिक व्यक्तित्वलाई समेट्न एनआरएनए पोलिसी इन्स्टिच्यूटको स्थापना वर्तमान कार्यसमितिका महत्वपूर्ण कार्य भएको उहाँको भनाइ छ ।


प्रकाशित | २७ भाद्र २०७८, आईतवार १२:४८