एसीसी यू१६ फाईनल: नेपालद्वारा मलेसियालाई १४१ रनको लक्ष्य

काठमाडौं:  थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरा ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनायो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन , निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । मलेसियाका लागि सचिनु हित्तेजले ३ तथा जिनेंद्र मुरालेले २ विकेट लिए ।

मलेसिया नेपालसंग समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्ने योजनामा रहेको छ । समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपाल साे जितलाई कायम राख्दै उपाधि घर ल्याउन चाहन्छ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा सिंगापुर सेमिफाइनलमा मलेसियासंग पराजित भएको थियो भने हङकङलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १२:०३