कुन देशबाट कति नेपालीको उद्धार गरिदैछ ? यस्तो छ दूतावासले पठाएको विवरण

काठमाडौं: सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश फीर्ता ल्याउनुपर्ने गरि कार्ययोजना तय गरिएको छ । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।

विदेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको विवरणअनुसार सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने देखिएको छ । पहिलो चरणमा साउदी अरेबियाबाट छ हजार ६२४ जना, मलेसियाबाट छ हजार ४२५, कतारबाट तीन हजार ६०८ जना, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ४१० जना, बहराइनबाट ३७२, ओमानबाट ६५६, कुवेतबाट दुई हजार ९९१ रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अस्टे«लियामा कोरोनाका कारण समस्यामा परेका एक हजार ३०० नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ भने माल्दिभ्सबाट २७४ जना नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ । त्यस्तै, दक्षिण कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनालाई ल्याउनुपर्ने भएको छ ।बङ्गलादेशबाट १८० जना, पाकिस्तानबाट १२५ जना र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्नेछ ।

त्यस्तै, अमेरिकाबाट अहिले स्वदेश फर्काउनपर्ने नेपालीको सङ्ख्या ६४६, क्यानडाबाट ७८ जना र इजरायलबाट ३९ जना नागरिक ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । पहिलो चरणमा युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट ६३ जना, थाइल्यान्डबाट ३५७ जना, सिङ्गापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका हुन । गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् । आजै कुवेतबाट १ सय ६८ नेपाली स्वदेश फर्कदैछन् ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार ०९:१६