एनआरएनए जापानको निर्वाचन प्रकरण: पाँच दिन भित्र सत्य तथ्य जानकारी गराउन परराष्ट्रको निर्देशन

काठमाडौं – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन निर्वाचनमा जापानलगायत विभिन्न मुलुकहरुमा अनियमीतता भएको जस्ता गुनासा आएको भन्दै सो सम्बन्धमा पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा धाधली भएको भन्दै यसअघि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । सो सम्बन्धमा मन्त्रालयले संघलाई एक पत्र लेख्दै पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको हो ।

बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित अन्तराष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछिपनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रत्रियामा सामेल भएको पाइएको, निर्वाचन आचार संहिताको पालना नगरि उलंघन गरिएको लगायतका गुनासा पाइएकोले त्यसको यथार्थ जानकारी दिनका लागि भनिएको छ ।

जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत जानकारी गराउनका लागि निर्देशन गरिएको छ। 


प्रकाशित | १८ भाद्र २०७८, शुक्रबार २२:०९