कुवेतमा नेपालीको अवस्था र सरकारले चाल्नुपर्ने कदम

सुजन केसी, अध्यक्ष- एनआरएनए कुवेत 

कोरोनाले विश्वब्यापी महामारीको रुप लिएसँगै कुवेत पनि अछुतो रहन सकेको छैन । जसको कारण कुवेत विगत १२ मार्चदेखि लगातार लकडाउनमा छ । सरकारले कोरोना नियन्त्रणको लागि लकडाउन मात्र नभई साझ ५ बजेदेखि बिहान ६ बजेसम्म कफ्यू नै लगाएको छ । आजको मितीसम्म यहाँ ११४४ जनामा कोरोना संक्रमण भइसकेको छ । अहिलेसम्म ९ जना नेपालीमा समेत कोरोना संक्रमण देखिएको छ । ४ जनालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अन्य ५ जनामा भने शुक्रबार मात्र कोरोना संक्रमणको पुष्ट भएको छ । यो सँगै नेपालीको संख्या ९ पुगेको छ । उहाँहरु सबै अहिले उपचाररत हुनुहुन्छ । संक्रमीत नेपालीहरुको अवस्था चिन्ताजनक छैन । उहाँहरु सबै यही साता मात्र संक्रमीत भएको हुँदा उपचारमा केहि सयम लाग्ने देखिन्छ । हामी आसा गरौ, उहाँहरु पूर्ण स्वास्थ भएर चाँडै अस्पतालबाट घर फीर्ता हुनुहुनेछ ।

यहाँ सरकारले नै लकडाउन गरेपछि काम गरेर खाने श्रमीकहरु मर्कामा पर्नुभएको छ । विशेष गरि नेपाली श्रमीकहरु समेत यतिखेर बेरोजगार भएर उसै बस्नुपर्दा समस्यामा पर्नुभएको छ । आम नेपालीहरु पनि सरकारी नियमलाई पालना गर्दै घरभित्रै बस्नु भएको छ । यहाँ सरकारी तथ्यांक अनुसार ७० देखि ७५ हजार नेपाली रहेको पाइन्छ । त्यसमध्ये ४ हजार नेपाली अवैधानीक रुपमा बसेको सरकारी तथ्याक छ । यो बेलामा हामीले कोही नेपालीलाई पनि खाना नपाउने अवस्था आउन नदिन सक्दो प्रयास गरिरहेका छौ । विशेष गरि नेपाली राजदूतावास सँग समन्वय गरेर सूचनाको पहुँच पुरयाउँदै सहयोग गरिरहेका छौ ।

कोरोना भाइरस फैलिएसँगै शूरुमा हामीले स्थानीय मिडिया तथा सामाजीक सञ्जालमार्फत नेपाली भाषामा सचेतना जगाउने प्रयास गर्यौ । त्यसपछि लकडाउन लामो समय चलिरहँदा कोही नेपाली पनि भोकभोकै हुने अवस्था नआओस भन्ने उद्देश्यले कुवेतका विभिन्न ५ ठाउँमा गोदाम बनाएर समस्यामा परेका नेपालीलाई राहत वितरण अभियान थालेका छौ । केहि दिनअघि मात्र शूरु गरिएको यो अभियान अन्तर्गत समस्यामा परेका नेपालीको जानकारी पाउँन साथ सम्बन्धीत क्षेत्रमा रहेको गोदाममार्फत तुरन्त राहत वितरण गर्न सक्ने गरि अलर्ट राखेका छौ । विशेष गरि चाहल, दाल, नुन, तेल जस्ता अत्यावश्यक सामानहरुको जोहो गरेर राखेसँगै हामीले कुवेत भर बस्नुहुने नेपालीहरुलाई विभिन्न माध्यमबाट सूचना प्रवाह  गरिरहेका छौ । साथै नेपालीहरुको अवस्था कस्तो छ, कुन ठाउँमा नेपालीहरु बसेका छन ? भन्दै नियमीत रुपमा सूचना लिने र्कार्य गरिरहेका छौं ।

कुवेतमा यो महामारीमा वैधानीक हिसावले बसेका भन्दा अवैधानीक रुपमा बसोबास गर्नुहुने बढी समस्यामा पर्नुभएको छ । सरकारी तथ्यांक अनुसार नै यहाँ ४ हजार अवैधानीक नेपाली रहेको हुनाले एनआरएनएले अहिले धेरैजसो राहत पनि उहाँहरुलाई वितरण गरेको छ । वैधानीक रुपमा बसोबास गर्नुहुनेलाई सरकारले दिने सुविधा पनि पाउँनु भएको छ । तर अवैधानीक रुपमा बस्नेले त्यो सुविधा पाउने कुरै भएन त्यसकारण पनि बढी समस्या अवैधानीक रुपमा बस्नुहुने नेपालीमा देखिन्छ ।

सरकारले तीन दिनदेखि भने अवैधानीक रुपमा कुवेतमा बसेका आप्रवासीलाई घरफीर्ता हुन चाहे कुनै जरिबाना नलिई सरकारले हवाई टिकट समेत निशुल्क काटीदिने घोषणा गरेको छ । यो बेलामा नेपाल सरकारले पनि अवैधानीक रुपमा रहनु हुने नेपालीलाई घरफीर्ताको लागि आवश्यक पहल गरे राम्रो हुने देखिन्छ । किनकी कोरोना महामारी लामो समय चलिरहे र लकडाउन बढिरहे हामीले पनि धान्न सक्ने अवस्था छैन । तत्कालको लागि विभिन्न मनकारी नेपालीहरुको सहयोगमा उठेको रकमबाट राहत वितरण गरे पनि आगामी दिनमा चुनौती झन थपीने देखिन्छ । त्यसैले सरकारले यस सम्बन्धमा गम्भिर भएर अवैधानीक नेपालीलाई स्वदेश फीर्ताको लागि पहल गरोस । किनकी यहाँ सरकारले हवाई टिकट निशुल्क गरिदिदा पनि नेपाल जान सक्ने अवस्था छैन । नेपालमा हवाई उडान सबै प्रतिबन्ध लगाइएको अवस्था छ । त्यसकारण सरोकारवाला निकायले यसतर्फ ध्यान दिएमा नेपालीहरुको कुवेतको समस्या केहि हदसम्म भए पनि कम गर्न सकिन्थ्यो ।

अन्तमा यो विपत्तिमा तपाई हामी जहाँ छौ सुरक्षीत भएर आवश्यक सावधानी अपनाएर बस्न अनुरोध गर्न चाहान्छु । तपाई कुवेतको जुन ठाउँमा बसोबास गर्नु भए पनि समस्यामा पर्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुहुन र यो बेलामा तपाई पनि एनआरएनएको कोषमा सहयोग गर्न चाहानु हुन्छ भने सहयोग गरि समस्यामा पर्नुभएको नेपालीको उद्दारमा सहयोगी भनीदिनु हुन समेत हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।

एनआरएनए कुवेत अध्यक्ष केसीसँग विश्व सन्देशले गरेको कुराकानीमा आधारित


प्रकाशित | २९ चैत्र २०७६, शनिबार १७:१२