काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ १५ मा सुरु हुनेछ । साविकको विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रनेछ । मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने योजनामा हुनेछ । यस्तै मलेसिया नेपालसंग समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपाल उक्त जितलाई कायम राख्दै उपाधि घर ल्याउन चाहन्छ । शनिबार भएको सेमिफाइनलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
यस्तै मलेसियाले साविकको उपविजेता सिंगापुरलाई ५७ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा सिंगापुर सेमिफाइनलमा पराजित भयो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई उपाधि जित्न भने मलेसियाको चुनौती पन्छाउनु पर्नेछ ।
प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०८:५६