प्रचण्डलाई महेश बस्नेतको सुझाव – गुटका नाममा स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउनुस्

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सस्दय तथा प्रभावशाली युवा नेता महेश बस्नेतले गुटका नाममा विभिन्न स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) लाई सुझाव दिनुभएको छ । देशभरका नेकपाका कार्यकर्ता तथा जनता अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनताको जनमतलाई लत्याउने कुनै पनि कुचेष्ठा नगर्न चेतावनी दिनुभयो ।

केपी ओली नेपाली इतिहासको नायक भएको उल्लेख गर्दै ओलीकै कारण नेकपालाई करिव दुई तिहाईको जनमत प्राप्त गरेको बताउनुभयो ।

ओली, प्रचण्ड र माधवकुमार नेपालको सहमतिमा नै पार्टीलाई आगामी दिनको सुन्दर यात्रामा अगाडी बढाउनुपर्नेमा जोड दिँदै उहाँले देशी तथा विदेशी तत्वलाई फाईदा पुग्ने गरी विभिन्न नेतृत्वको स्वार्थका कारण लाखौं नेकपाका कार्यकर्ताको भविष्यमाथि अन्धकार बनाउने गतिविधि नगर्न नेतृत्वलाई अपिल गर्नुभयो ।

पार्टीका कार्यकारी अध्यक्षद्वारा कुर्सीको स्वार्थका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि संगिन आरोप लगाईएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद समेत रहुनभएका सांसद बस्नेतले प्रधानमन्त्री ओलीले आगामी महाधिवेशपछि अध्यक्ष तथा निर्वाचनपछि प्रधानमन्त्री नबन्ने घोषणा गरिसक्नु भएकाले भविष्यको नेतृत्व कसले लिने र कुन बाटो अवलम्बन गर्ने भन्ने विषयमा गंभिर भएर लाग्न अध्यक्ष प्रचण्ड तथा नेता नेपाललाई सुझाव दिनुभयो ।

आफ्नो दुनोमात्र सोज्याउन खोज्ने प्रवृद्धि बढेकाले त्यसलाई सच्याउँदै अगाडी बढ्नुपर्नेमा उहाँले पदलोलुपता हुनुभन्दा पनि पार्टी, जनता र मुलुकको लागि ध्यान दिनुपर्ने जोड दिनुभयो ।

प्रचण्ड र माधवको नेतृत्वबाट नेकपा बाहिर जाने सम्भावना बढ्दै गएको प्रति संकेत गर्दै सांसद बस्नेतले अवको नेतृत्व दोस्रो पुस्तामा जाने सम्भावना रहेको समेत औंल्याउनुभयो ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र विवाद सिर्जना गर्नुभन्दा पनि प्रधानमन्त्री ओलीसँगको सहकार्यमा आगामी एकताको महाधिवेशनको कामलाई व्यापकता दिई आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले द्वन्द्व र सैन्य गतिविधिबाट आउनुभएका प्रचण्डको दम्भ र अहमताको न्युनिकरण गर्न ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनुभयो ।


प्रकाशित | ७ मंसिर २०७७, आईतवार १५:५०