काठमाडौँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको अस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज आएसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ ।
यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७०० मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश नं १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने छ । गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ ।
भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।
प्रकाशित | ७ भाद्र २०७८, सोमबार १६:१५