प्रदेश नं १ मा ५६ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर : प्रदेश नं १ मा अहिलेसम्ममा ५६.७४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउन महीनाको दास्रो सातासम्ममा प्रदेश नं १ का तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिनुभयो ।

असार महीनाको तेस्रो सातासम्म देखिएको सुक्खाले रोपाइँ ढिलो भएको र असार अन्तिम सातादेखि भएको लगातारको वर्षाले कृषकले धान रोपाइँलाई तीव्रता दिएका थिए । यस प्रदेशमा तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती हुने गरेकामा अहिलेसम्ममा एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा धानको रोपाइँ सकिएको छ ।अहिलेसम्म पहाडी जिल्लामा सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत र तराईका जिल्लामा सबैभन्दा बढी झापामा ७० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १९:३९