भारतबाट सुदूरपश्चिम प्रदेशमा शुक्रबार सात हजार भित्रिए

चाँदनी आचार्य /लम्की 

सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् ।  कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट नाकाबाट उनीहरू नेपाल भित्रिएका हुन् ।

सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ३५०, कञ्चनपुरको गड्डा चौकी नाकाबाट दुई हजार ७७८ र बैतडीको झुलाघाट नाकाबाट २८३ जना नेपाली शुक्रबार नेपाल भित्रिएका हुन् ।

योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ४८ हजार पुगेको छ । त्यसैगरी, गौरीफन्टा नाका भएर २४३ जना भारतीय नागरिक बाहिरिएका छन् ।

सीमामा परीक्षण नगरी उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्दा व्यवस्थापनमा समस्या आउनुको साथै जोखिमसमेत बढेको छ ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार ०७:५०