आकर्षक बन्यो च्छो–रोल्पा हिमताल पदमार्ग

कैलाश लामा /चरिकोट (दोलखा )

समुद्री सतहबाट चारहजार ५८० मिटरको उचाईमा रहेको दोखलाको गौरीशंकर गाउँपालिकामा अवस्थित नेपालकै ठूलो च्छो–रोल्पा हिमतालसम्म जाने पदमार्ग पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको सहकार्यमा विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजनारभुकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत २०७३ सालदेखि पुनःनिर्माणको तथा स्तरउन्नती गरिएको यो पदमार्ग हालै सम्पन्न भएको हो ।

स्वीस सरकारको करिब १० करोड रूपियाँ आर्थिक सहयोगमा गौरीशंकर गाउँपालिकाको वडा नम्बर – ९ छेतछेतदेखि च्छो–रोल्पासम्म करिब ४० किलोमिटर पर्यटकीय पदमार्गको पुनःनिर्माण तथा स्तरउन्नति गरिएको स्वीस राजदुतावासको कार्यक्रम व्यवस्थापन विशेषज्ञ अमन जोन्छेले जानकारी दिनुभयो ।

मंगलबार दोलखाको उत्तरी सिंगटीमा आयोजित कार्यक्रममा नेपालका लागि स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको उपस्थितिमा गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहलाई पदमार्ग हस्तान्तरण गर्नु भएको छ ।

सो अवसरमा नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले नेपाल र त्यसमा पनि दोलखासँग स्वीस सरकारको लामो मित्रता रहेको स्मरण गर्नुहुँदै दोलखाको सुन्दरताबाट पर्यटक आकर्षित गर्न क्षेत्र सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो।

राजदुत ऐलिजावेथले पर्यटन विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै विकासको नाममा प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक संरचना बिगार्न नहुने बताउनुभयो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखाको विकासमा स्वीस सरकारको सहयोग उल्लेखनिय रहेको चर्चा गर्नुहुदै पर्यटन विकासमा स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम गर्ने बताउनुभयो । उहाँले पदमार्ग बनेसँगै नेपाल भ्रमण वर्ष २०२० का लागि च्छो–रोल्पा क्षेत्र उत्कृष्ट गन्तव्य हुने दावी गर्नुभयो ।

पदमार्गमा अप्ठेरा ठाउँहरुमा रेलिङ राखिएको, आवश्यक ठाँउमा सुचना पाटी, पदमार्गमा पर्ने पाँच ठाँउमा झोलुङ्गे पुनःनिर्माण र स्थानियलाई पदमार्ग सम्बन्धी विकास तालिम समेत दिईएको छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले च्छो–रोल्पासम्मको पदमार्ग पुनःनिर्माण तथा स्तरउन्नतिको कामले संरक्षण क्षेत्रमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै दोलखाको विकासमा स्वीस सरकारसँग मिलेर काम गर्न संरक्षण क्षेत्र प्रतिक्षारत रहेको बताउनुभयो । गोरखापत्र दैनीक


प्रकाशित | ९ आश्विन २०७६, बिहीबार १७:०८