बुद्ध एयरको पोखराबाट सिमरा सिधा उडान सञ्चालन हुने

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँ बाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् ।

यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।


प्रकाशित | ६ भाद्र २०७८, आईतवार १८:००