वैशाख पहिलो साता राष्ट्रपतिको चीन भ्रमण : भ्रमणमा पारवहन सम्झौतामा हस्ताक्षर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल चीनबीच भएको व्यापार तथा पारवहन सम्झौतालाई अन्तिम रूप दिने तयारी सरकारले गरेको छ । वैशाख पहिलो साता राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लाग्नुभएको हो ।

मन्त्रालयका अनुसार सम्झौतामा भएको सहमतिको आधारमा हस्ताक्षर गर्न गृहकार्य धमाधम भइरहेको छ । नेपाल तथा चीनबीच भदौमा व्यापार तथा पारवहन सहमति भएको थियो । तत्कालीन वाणिज्य सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा चीन गएको टोलीले पारवहन सम्झौतामा विस्तृत छलफल गरेर हस्ताक्षरको काम उच्चस्तरीय भ्रमण हुँदा टुंग्याउने सहमति गरेको थियो । सहमतिमा दुवै देशतर्फका उच्चस्तरीय भ्रमणमा हस्ताक्षर गरिने भने पनि राष्ट्रपतिकै भ्रमणमा हस्ताक्षर गरिने भएको छ । प्रधानमन्त्री ओलीको उपस्थितीमा २०७२ चैतमा नेपाल र चीनबीच बेइजिङमा दुवै देशका परराष्ट्रमन्त्रीले पारवहनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

त्यसयता नेपाल–चीन परामर्श बैठकले प्रोटोकल सम्झौता गर्ने र व्यापार पारवाहन सहज गराउने निर्णय गरेको थियो । जसबाट नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयातनिर्यातको पहुँच पु(याउन सक्नेछ । हाल नेपालले भारतको कोलकाता तथा विशाखापट्टनम मार्फत तेस्रो मुलुकसंग ब्यापार गर्ने गर्दछ ।

भारततर्फको एकोहोरो भरमा छलेको नेपालको बैदेशिक ब्यापार चीनको सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने भएपछि विस्तार हुनसक्ने जनाइएको छ । तर, हाललाई नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्नसक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यस्तै, मन्त्रालयले हाल नेपालले चीनका लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने जनाएको छ । नेपालतर्फको रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङ्चुगोला गरी ६ वटा नाकामार्फत ढुवानी गर्न पाउने ब्यवस्था उक्त समझदारीमा भएतापनि हाल नेपालले बर्षेदेखि प्रयोग गर्दै आइरहेको कोदारी नाका बन्द छ । तर, चिनियाँ पक्षले आगामी जेठ १७ देखि तातोपानी नाका सञ्चालन गर्न लागेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीनले पत्र पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७२ वैशाख १२ गतेको महाभुकम्पमा भौतिक संचरना भत्किएपछि चीनले तातोपानी नाका बन्दको घोषणा गरेको थियो । तर लगातार नेपालको आग्रहपछि चीनसँगको नाका पुनः खुल्न लागेको हो । भूकम्पलगत्तै चीनले खासा सहरलाई सारेर भत्किएका संरचना पुनर्निर्माण गर्न लागेका थियो । हाल चीनतर्फ सबै पुनर्निर्माण सकएिको छ भने नेपालतर्फ पुनर्निर्माण अझै बाँकि छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले तातोपानीको निरीक्षणपछि प्रधानमन्त्री ओलीलाई आगामी जेठ १७ बाट नाका सञ्चालनमा ल्याउन सकिने ब्रिफिङ गर्नुभएको थियो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार ०९:२९