काठमाण्डौ – नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले
सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरलाई कम गर्न कुनै योजना ल्याउन नसक्दा नागरिक जीवन अत्यन्तै सङ्कटमा रहेको ठहर गरेको हो ।
कांग्रेसले १३ बुँदे सुझाव दिर्दै भनेको छ, ‘अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन छ । यस अवस्थामा कोरोना सङ्क्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् ।’
त्यस्तै, कांग्रेसले विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्न माग पनि गरेको छ । हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेशन र क्वरेण्टीनको व्यवस्था मिलाउन पनि कांग्रेसले माग गरेको हो ।
कांग्रेसको १३ बुँदे ध्यानाकर्षण
(१) अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन छ । यस अवस्थामा कोरोना सङ्क्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् ।
(२) कोरोना सङ्क्रमण फैलँदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना सङ्क्रमित बिरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक सङ्ख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गरियोस् ।
(३) अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टिलेटरको तत्काल व्यवस्था गरियोस् ।
(४) स्वास्थ्यकर्मीहरुलाई बीमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस् ।
(५) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हुने गरेको दुर्व्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस् । साथै सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस् ।
(६) सङ्क्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा सङ्क्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पीसीआर परीक्षणलाई व्यापक बनाइयोस् ।
(७) उपचारको क्रममा उपयोगी औषधिहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस् ।
(८) स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना सङ्क्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस् ।
(९) विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस् ।
(१०) हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेशन र क्वरेण्टीनकाे व्यवस्था मिलाइयोस् ।
(११) देशभर आवश्यक मात्रामा आइसोलेशन केन्द्र र क्वरेण्टीन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस् ।
(१२) कोरोना सङ्क्रमण भएकाहरुलाई लक्षणको स्वरुप हेरी आइसोलेशनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरुले निर्णय गर्ने व्यवस्था गरियोस् ।
(१३) शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर भए पनि सञ्चालन गरियोस् ।
प्रकाशित | १० भाद्र २०७७, बुधबार १५:३६