एनआरएनए निर्वाचनमा मौलाउदो बेथिती : सस्तो लोकप्रियता र बार्गेनिङका लागि उम्मेदवारी !

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुँदैछ । अक्टोवरमा हुने विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी गर्मराउदो छ ।

यतिखेर विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आइसिसी निर्वाचनमा मात्र १७ पदका लागि चार दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अझै नयाँ नयाँ उम्मेदवारहरु खडा हुने क्रम रोकिएको छैन । एनआरएनए गैर आवासीय नेपालीहरुको साझा संस्था हो, जहाँ गैर आवासीय नेपालीहरुका मुद्धाहरु सम्बोधन गर्न सक्ने बलियो प्रतिनिधिको आवश्यकता पर्दछ ।

प्रत्येक दुई वर्षमा हुने निर्वाचनमा निस्वार्थ रुपमा गैर आवासीय मुद्धाहरुलाई सल्ट्याउनका लागि अघि बढ्ने उम्मेदवारहरु पनि भेटिन्छन् । जसलाई गैर आवासीय नेपालीहरुको हितमा काम गर्नु छ तर अन्य कुनै स्वार्थ छैन । यस्ता वास्तविक र केही गर्न खोज्ने उम्मेदवारहरुलाई सल्यूट । तर वास्तविक उम्मेदवारहरुलाई नै मात खुवाउने गरी खडा हुने नक्कली उम्मेदवारहरुका कारण भने एनआरएनए बदनाम हुदैं गइरहेको छ ।

विगतका वर्षहरुमा देखिएका विकृतीहरुले यस वर्ष पनि निरन्तरता पाउने संकेत देखीन थालीसकेको छ । किनकी यस वर्ष पनि आवश्यक संख्या भन्दा अत्याधिक बढी उम्मेदवारीहरु घोषणा भइरहेका छन् ।

अघिल्लो निर्वाचनका केही घटना परिघटनाहरु

एनआरएनए निर्वाचन (२०१९-२०२१) मा उम्मेदवारी दिएकै भरमा रातारात करोडपती बनेका घटनाहरु ताजै छन् । यति मत छ भन्दै बार्गेनिङ गर्ने र उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ताको मुखमा पुगेका उम्मेदवारले अर्का उम्मेदवारसँग पैसाको डिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने जस्ता घटनाहरु एनआरएनएको इतिहासमै घीनलाग्दा घटनाहरु हुन् । एनआरएनको चुनावमा कतीसम्म विकृति मौलाउदै छ र आर्थिक चलखेल भएको छ भन्ने यस्ता उदाहरणहरु केलाउदै जाने हो भने कयौं भेटिन्छन् ।

विगतका वर्षहरुमा वास्तावीक उम्मेदवार भन्दा पनि सस्तो लोकिप्रयता र वार्गेनिङको लागि उम्मेदवारी घोषणा गर्नेहरु प्रशस्तै भेटिएका थिए । निर्वाचनको माहौल तात्दै जाँदा धमाधम उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको मुखमा पुग्न लाग्दा धमाधम उम्मेदवारी फिर्ता लिने गरेको पाइन्छ । विभिन्न सामाजिक सञ्जालदेखि मिडियामा निकै छाउने व्यक्तिहरुले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिनुलाई सस्तो लोकप्रियता र बार्गेनिङकै संज्ञा दिदा अत्युत्ती पक्कै नहोला । कसैलाई हराउन वा जिताउन पनि उम्मेदवारी घोषणा गर्दै मतदातालाई भ्रममा पार्ने र अन्तिममा उम्मेदवारहरु उम्मेदवारी दर्ता सम्ममा नपुग्नुलाई कसरी विश्लेषण गर्ने ?

उम्मेदवार बन्न यस्तो छ मापदण्ड

गैर आवासीय नेपाली संघको निर्वाचनमा उम्मेदवारहरुको दर्ता शूल्क चर्को छ । यो पटक पनि अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षहरु तथा महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह–कोषाध्यक्षका लागि  ४ लाख रुपैयाँ छ ।

त्यस्तै, महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप–संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र आईसीसी सदस्यहरुका लागि एक लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ ।

हालसम्मको अवस्था हेर्ने हो भने आगामी अक्टोवरमा हुने निर्वाचनको लागि ६ दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यो उम्मेदवारी अन्तिम समयमा आएर आधा भन्दा बढीले घट्ने अनुमान गर्न गाह्रो छैन ।

संघको संशोधित विधानमा अध्यक्ष पदका लागि उम्मेदवार बन्न अन्तराष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने उल्लेख छ । तर भर्खरै गठन भएका राष्ट्रिय समन्वय परिषद्हरुको तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुले अन्तराष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा उम्मेदवारी दिन अयोग्य हुने विधानमा ब्यवस्था गरिएको छ ।

त्यस्तै, राष्ट्रिय समन्वय परिषद् वा अन्तराष्ट्रिय समन्वय परिषद्का कुनै पनि पदमा निर्वाचनमा पराजित उम्मेदवार वा विजयी उम्मेदवार सो कार्यकालका लागि राष्ट्रिय समन्वय परिषद् वा अन्तराष्ट्रिय समन्वय परिषद्का कुनै पनि कार्यकारी पदमा उम्मेदवार बन्न वा मनोनित हुनु अयोग्य हुने ब्यवस्था छ ।

त्यस्तैगरि, अन्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारी वा सदस्यको हैसियतले तिर्नु पर्ने शुल्क चुक्ता नगरेका ब्यक्तिहरु अन्तरािष्ट्रय समन्वय परिषद्मा उम्मेदवार बन्न वा मनोनित हुन नपाउने ब्यवस्था छ ।

संघको युवा उपाध्यक्ष, क्षेत्रीय युवा उपाध्यक्ष, क्षेत्रीय युवा संयोजकको उम्मेदवार बन्नको लागि अन्तरािष्ट्रय महाधिवेशन शूरु भएको दिन सम्म ४० वर्ष उमेर नकाटेको हुनुपर्ने ब्यवस्था छ ।

संस्थामा सुधारको आवश्यकता

फेरि गत वर्षकै चुनावलाई आधार बनाएर विश्लेषण गर्दा गैर आवासीय नेपाली संघको चुनावमा झन्डै ५० करोडको आर्थिक चलखेल भएको सरोकारवालाहरु बताउँछन् । विभिन्न उम्मेदवारहरुले भोटको लागि गरेको खर्च र रजिष्टेशन शूल्क, टिकटमा गरिएको खर्च, ठूला पार्टीका नेतालाई दिइएको सहयोग, प्यानलमा दिइएको रकम जोड्दा ५० करोड खर्च भएको अनुमान गरिएको हो ।

एनआरएनएको चुनावी प्रक्रियालाई नजिकबाट नियाल्दा योगदान गरेका, एनआरएलाई माया गर्ने, भलो चिताउनेहरु भन्दा पनि आफ्नो स्वार्थका लागि संस्थालाई प्रयोग गर्नेको बर्चस्व बढ्दै गएको छ ।

विगतका कमी कमजोरी हुन नदिन सबैभन्दा पहिला आर्थिक चलेखल रोकिन जरुरी छ । यस वर्षको चुनावमा बेथिती र विकृति हुन नदिन निकै सचेत हुनुपर्ने देखिन्छ । गैर आवासीय नेपालीहरुको अभिभावक बनेको गैर आवासीय नेपाली संघलाई सबैको साझा चौतारी बनाउन आवश्यक छ । नकी क्षणिक स्वार्थका लागि संस्थालाई प्रयोग गर्ने शैलीको विकास । यस्तै हर्कतहरुलाई सधैको लागि बन्द गर्न नसकेको अवस्थामा एनआरएनएको अस्तित्व समाप्त नहोला भन्न सकिन्न ।


प्रकाशित | ६ भाद्र २०७८, आईतवार २२:५९