एनआरएनएमा छायो चुनावी रौनक : १७ पदका लागि चार दर्जन बढी आकांक्षी

काठमाडौं – गैर आवासीय नेपाली संघमा यतिखेर चुनावी रौनक छाउन थालेको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा हुन लागेको १० औं विश्व सम्मेलनको लागि चुनावी रौनक छाउन थालेको हो ।

कोभिड-१९ अर्थात कोरोना महामारीले केहि असहज बनाए पनि आगामी कार्यकालको लागि चुनावी सरगर्मी बढेको छ । यो पटक कोरोनाको कारण अनलाईनको माध्यमबाट निर्वाचन हुँदैछ । दुई वर्षमा एक पटक हुने संघको निर्वाचनका लागि विभिन्न पदमा दावेदारी गर्ने क्रम जारी छ ।

संघको संशोधित विधानअनुसार अन्तराष्ट्रिय समन्वय परिषद्का लागि अध्यक्ष १, उपाध्यक्षमा महिला र युवासहित ६, महासचिवमा १, सचिवमा एक महिलासहित ४, कोषाध्यक्षमा १, सहकोषाध्यक्षमा एक महिलासहित २, महिला र युवा संयोजकमा एक एक गरि १७ पदका लागि निर्वाचन हुँदैछ । जसमा हालसम्म चार दर्जन बढी आंकाक्षी देखिएका छन् ।

संघको नेतृत्वका लागि हालसम्म तीन जना आंकाक्षी देखिएका छन् । संघका उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र संघका सल्लाहकार तथा अघिल्ल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहनु भएका कुल आचार्यले नेतृत्वका लागि दावी गर्नु भएको छ ।

नेतृत्वका लागि बद्री केसी र रविना थापाले एक महिनादेखि काठमाडौं केन्द्रित भएर आफ्नो पक्षमा लविङ शुरु गरिसक्नु भएको छ भने कुल आचार्य केहि दिन अघि मात्र बेलायतबाट काठमाडौंमा आउनु भएको छ । आचार्यले पनि भेटघाटलाई तीब्रता दिदै आफनो पक्षमा माहौल बनाउन लागिपर्नु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा अध्यक्षमा केसी, थापा र आचार्यबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै, वर्तमान अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामा भने सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिनु भएको छ । पन्त र लामा सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोड दिर्दै जसको नाममा सर्वसम्मती हुन्छ उसैलाई नेतृत्व चयन गर्नुपर्ने अडानमा हुनुहुन्छ । निर्वाचनमा जाँदा एक पक्ष बाहिर हुने भएकाले संस्थामा विभाजन आउँन नदिन सर्वसम्मत नेतृत्व चयनको विकल्प नभएको पन्त र लामाको तर्क छ । यद्यपी उहाँहरु दुवैले आफूहरु निर्वाचनमा नलड्ने घोषणा भने गरिसक्नु भएको छ ।

संघको चार खुला उपाध्यक्षका लागि हालसम्म ९ जनाले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षका लागि संघका महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सल्लाहकार एसी शेर्पा, सचिव राजेन्द्र कुमार शर्मा र एनसिसी अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साहले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

त्यस्तै, अघिल्लो निर्वाचनमा उपाध्यक्षको प्रत्यासी रहनु भएको धर्मराज अधिकारी, अघिल्लो निर्वाचनमा सचिवको प्रत्यासी रहनु भएको शिव बरुवाल, एनआरएन रोड सेप्टीका पूर्व संयोजक थर्क सेन र ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष जय प्रकाश गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

त्यस्तैगरि, सोही पदको लागि प्रवक्ता डिवी क्षेत्री, अघिल्लो निर्वाचनमा उपाध्यक्षको प्रत्यासी रहनु भएको हिक्मत थापा, एसिया प्याशिफिक क्षेत्रको पूर्व क्षेत्रीय संयोजक त्रिलोक गुरुङ, एनआरएनए अष्ट्रेलीयाको पूर्व अध्यक्ष गणेश केसीलगायतको नाम चर्चामा छ ।

एक युवा उपाध्यक्ष पदका लागि युवा संयोजक रहनु भएको हिमाल गुरुङ र मध्यपूर्व युवा संयोजक राज रेग्मीले उम्मेदवारी घोषणा गर्नु भएको छ भने अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक रोशन थापा र अघिल्लो निर्वाचनमा कोषाध्यक्षका प्रत्यासी रहनु भएको सुदन थापाको नाम पनि चर्चामा छ ।

उता एक महिला उपाध्यक्ष पदको लागि अघिल्लो निर्वाचनमा महासचिवको प्रत्यासी रहनु भएकी जानकी गुरुङ र साउदी अरवबाट यासमीन बेगम सैयदले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तै, १ महासचिव पदको लागि गौरी राज जोशी, डा. केशव पौडेल र विनय अधिकारीले उम्मेदवारी घोषणा गर्नु भएको छ । जोशी हाल सचिव हुनुहुन्छ भने पौडेल अघिल्लो निर्वाचनमा उपाध्यक्ष र अधिकारी सचिवको प्रत्यासी हुनुहुन्थ्यो ।

तीन खुला सचिव पदको लागि मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रवीण गुरुङ, एसिया प्याशिफिक क्षेत्रका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अघिल्लो निर्वाचनमा यूरोप क्षेत्रबाट क्षेत्रीय संयोजकको प्रत्यासी रहनु भएको गंगाधर गौतम, बेलायतबाट आइसिसी सदस्य रामशरण सिमखडा, कोरियाबाट आइसिसी सदस्य डा. देवी बस्नेत, अस्ट्रेलियाबाट आइसिसी सदस्य नारायण प्रसाद काप्ले, अघिल्लो निर्वाचनमा सोही पदको प्रत्यासी रहनु भएको अभिमान सिंह बस्नेत, आइसिसी मनार्थ सदस्य तथा एनआरएनए अस्ट्रेलियाको (२०२१-२०२३) कार्यकालको निर्वाचनमा प्रमुख आयुक्त रहनु भएको सुरेन्द्र सिग्देल, एनआरएनए यूएईको पूर्व प्रवक्ता रहनु भएको निमेश गिरीले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तै, खुला सचिव पदमा एनआरएनए यूरोप संयोजक नारायण आचार्य, अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, रसियाबाट अघिल्लो निर्वाचनमा सहकोषाध्यक्षको प्रत्यासी रहनु भएको गोविन्द गौतम, अघिल्लो निर्वाचनमा एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकको प्रत्यासी रहनु भएको ओम गुरुङ र अमेरिकाबाट आइसिसी सदस्य रहनु भएको शंकर खडकाको नाम पनि चर्चामा छ ।

संघको एक महिला सचिव पदका लागि एनआरएनए महिला संयोजक भोमा लिम्बु र हङकङको निवर्तमान अध्यक्ष टिका गुरुङ (राधिका) को नाम चर्चामा छ ।

उता एक कोषाध्यक्ष पदमा सह-कोषाध्यक्ष रहनु भएको लोक प्रसाद दाहालको नाम चर्चामा छ । एक खुला सह-कोषाध्यक्ष पदको लागि एसिया प्याशिफिक क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ (गोविन्द) र अमेरिकाबाट आइसिसी सदस्य होमनाथ गौतमको नाम चर्चामा छ ।

एक महिला सह-कोषाध्यक्ष पदका लागि एनआरएनए युरोप महिला संयोजक योगीता थापाले उम्मेदवारी घोषणा गर्नु भएको छ भने ओशिनिया क्षेत्रीय महिला संयोजक जानकी पौडेलको नाम पनि चर्चामा छ ।

यता एक युवा संयोजक पदको लागि एनआरएनए मध्यपूर्वका क्षेत्रीय सह-संयोजक मनोज गोर्खालीले उम्मेदवारी घोषणा गर्नु भएको छ । एक महिला संयोजक पदका लागि अघिल्लो निर्वाचनमा प्रत्यासी रहनु भएको जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ भने अमेरिकाज् क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, अमेरिकाज् क्षेत्रीय युवा संयोजक विमला सापकोटाको नाम पनि चर्चामा छ ।

त्यस्तैगरि, विभिन्न ६ वटा क्षेत्रमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । ६ वटा क्षेत्रमा एक/एक जना क्षेत्रीय संयोजक गरि ६ जना, क्षेत्रीय उपसंयोजक कम्तिमा ६, क्षेत्रीय महिला संयोजक, महिला उप-संयोजकमा ६/६ गरि १२ र युवा संयोजक र युवा उपसंयोजकमा ६/६ गरि १२ जनाको निर्वाचन हुँदैछ ।

विधानमा उल्लेख भएबमोजीम एसिया, यूरोप, मध्यपूर्व, उत्तरदक्षिण अमेरिका, अफ्रिका तथा ओशिनिया प्रत्येक क्षेत्रबाट एक जना क्षेत्रिय संयोजक र एक क्षेत्रिय उप-संयोजक निर्वाचित हुनेछन । राष्ट्रिय समन्वय परिषद्हरुको संख्या १० सम्म भएमा १ जना, १० भन्दा बढी २० सम्म भएमा थप १ जना आदिको क्रमले वा पञ्जीकृत सदस्य संख्या १५ हजार सम्म भएमा प्रत्येक १५ हजार सदस्य बराबर १ जना क्षेत्रीय उप-संयोजक निर्वाचित हुनेछन् ।


प्रकाशित | ५ भाद्र २०७८, शनिबार १४:५५