टेकु अस्पतालमा अब कोभिडको मात्र उपचार हुने

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आजदेखि कोभिड उपचार सेवामात्र दिने जानकारी दिनुभयो । योसँगै टेकु अस्पतामा अन्य उपचार बन्द हुने उहाँले बताउनुभयो । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथावत् रहने उहाँले बताउनुभयो ।

उहाँका अनुसार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको हो । गत १० दिनयता अस्पतालमा कोभिड सङ्क्रमित भर्ना हुने क्रम बढिरहेको छ । अहिले अस्पतालमा २० भन्दा बढी सङ्क्रमितहरू उपचाररत रहेको उहाँले बताउनुभयो ।


प्रकाशित | ३१ चैत्र २०७७, मंगलवार १८:२१