वागमतीमा बन्यो एमालेको नयाँ सरकार, मुख्यमन्त्री शाक्यसहित अन्य दुई मन्त्री नियुक्त

काठमाडौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले  संविधानको धारा १६८ (१ं) अनुसार बहुमतको आधारमा  शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

बुधबार विहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले केशव पाण्डेलाई आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नु भएको हो।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा केपी शर्मा ओलीपक्षका ३५ र माधव कुमार नेपाल पक्षका २१ सांसद छन् ।


प्रकाशित | २ भाद्र २०७८, बुधबार २२:०४