सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता सिट बाँडफाँटको टुंगो लगाउने

काठमाडौं : सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको सात आधार तय गरेको छ । गठबन्धनले वैशाख पहिलो साता सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको हो ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु पनि बनाएको छ ।

गठबन्धनले २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई पनि आधार मानिएको छ । सिट बाँडफाँट गर्दा पहिला पाएको मतको साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि ध्यान दिने सहमति भएको छ ।

यसैगरि, सत्तारुढ पाँच दलले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ । वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिइनेछ ।

नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय गरिएको छ ।


प्रकाशित | ३० चैत्र २०७८, बुधबार ०८:०५