अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण

काठमाडौँ  – अगानिस्तानबाट नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताए पनि हालसम्म १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण भरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेबपोर्टलमा सोमबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको थियो । 

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।


प्रकाशित | १ भाद्र २०७८, मंगलवार १०:४५