सूर्यविनायकमा फोहोरमैला ब्यवस्थापन सम्बन्धी अन्तरक्रिर्या, जनगुनासो नआउने गरि काम गर्न सरोकार संस्थालाई मेयर थापाको निर्देशन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले जनगुनासो नआउने गरि फोहोरमैला ब्यवस्थापन गर्न सरोकार संस्थालाई निर्देशन दिनु भएको छ ।

आफु जनताको प्रतिनिधि भएकाले जनताको हितका लागि समर्पित भएर काम गरिरहेको बताउनुहुँदै फोहोरमैला ब्यवस्थापनमा जनगुनासो आइरहेकोप्रति सरोकार संस्थाको ध्यानआर्कषण गराउनु भयो ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोरमैला ब्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकालाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन लागिरेको जानकारी समेत गराउनुभयो ।

जनताको समस्या सम्बोधन गर्न आफु रातदिन नभनी खटिरहेको भन्दै जनताको काममा कुनै कन्जुसाई नगर्न आग्रह गर्नुभयो । नगरप्रमुख थापाले फोहोर व्यवस्थापनमा ठूलो चुनौति रहेको उल्लेख गर्दै फोहोरमैलाले विकासमा समेत समस्या निम्त्याउने गरेको बताउनुभयो ।

खुल्ला दिशामुक्त र पूर्णसरसफाईयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ नगरपलिका अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले वातावरण प्रदुषण हुने उद्योगहरु सर्यविनायकमा स्वीकृति नदिएको जानकारी गराउनुभयो ।

नगरपप्रमुख सरिता तिमिल्सिना भट्टराईले फोहोरमैलाको सवैभन्दा ठूलो चुनौती प्लास्टिक नै रहेको उल्लेख गर्दै घरघरबाट नै फोहोर वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सानो कुराले ठूलो परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत गर्दै उहाँले फोहोरमैला व्यवस्थापनलाई नगरपालिकाको नीतिमा नै समेटेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वातावरण शाखा प्रमुख अनिरुद्र नेपाल, वडा नं. ७ का वडाध्यक्ष तथा नगर प्रवत्ता रविन्द्र सापकोटा, वडा नं. २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ९ का वडाध्यक्ष तथा दैवी प्रकोप तथा विपत्त ब्यवस्थापन समितिका संयोजक भगवन खत्रीलगायतले नगरपालिका पूर्ण फोहोरमुक्त बनाउने अभियानमा लागिपरेको बताउनु भएको थियो ।

कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले सूर्यविनायक नगरपालिकामा फोहोरमैलाको व्यवस्थापन, अवस्था, सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नगरपालिकामा करिव ३५ हजार घर परिवार रहेकोमा नेप्सेम्याकले १७ हजार दुई सय ८२ घरमा काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल फुलवारीका असोक ठाकुरले एक वर्षमा खुल्ला फोहोरमुक्त बनाउने लक्ष्य रहेको जानकारी गराउनु भएको थियो ।


प्रकाशित | २१ जेष्ठ २०८०, आईतवार २०:५९