एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै एनआरएनए अमेरिका

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी गरेको छ ।

एनसिसी अमेरिकाले १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग संकलन भइरहेको प्रवक्ता तोया दाहालले जानकारी दिनु भयो ।

नेपाल पठाउन लागिएको स्वास्थ्य सामाग्रीको सङ्कलन, खरिद र ढुवानीका सम्बन्धमा गैर आवासीय नेपाली संघ अमेरिका अन्तरगतका २९ वटा च्याप्टरहरूको सक्रियतामा अगष्ट १५ तारिख जुम मिटिङ आयोजना गरिएको थियो । धेरै जसो च्याप्टरहरूले अक्सिजन कन्सन्टेटर, पीपीपीइ सेट र मास्क खरिद र सङ्कलन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

गैर आवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारलाई सहयोग स्वरूप पठाउन लागेका स्वास्थ्य उपकरण र सामग्रीको ढुवानी अमेरिकी सरकारले गरिदिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रम मार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो ।

नेपाल समान ढुवानी गर्ने अमेरिकाको युटाह राज्यमा रहेको युटाह नेशनल गार्डको परिसर भित्र अगष्ट २३ तारिख समान पुर्‍याइसक्नु पर्ने हुन्छ ।

गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री लिएर अगष्ट २७ तारिख युटाह राज्यको साल्ट लेक सिटीबाट अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भर्नेछ ।

नेपाल पुगेपछि सबै स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरिने छ । गैर आवासीय नेपाली संघ अमेरिकाले सहयोग स्वरूप पठाएका स्वास्थ्य उपकरण र सामग्रीको सही वितरण र प्रयोग होस भन्नका लागि अमेरिकी सहयोग नियोग युएनडीपीले नेपाल सरकारसँग मिलेर सम्बन्धित पक्षसम्म पुर्‍याउन सहयोग गर्ने छ ।


प्रकाशित | १ भाद्र २०७८, मंगलवार ०९:१२