कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गर्नुभएको छ । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताउनुभएको हो ।

उहाँले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’

‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन रु प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन र?’ओलीको प्रश्न छ । उहाँले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गर्नुभयो ।

‘ अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको दावी समेत गर्नुभयो । ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भन्नुभयो, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन् ।’


प्रकाशित | ७ चैत्र २०७८, सोमबार १३:४९