अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौँ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा गरेको छ ।

अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो ।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भन्नु भएको छ, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’

उहाँले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिनु भएको छ ।

तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाड्नु भएको छ । उहाँ काजकिस्तान गएको जनाइए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ ।

उहाँले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएको विवरणहरु आएका छन् ।


प्रकाशित | ३२ श्रावण २०७८, सोमबार ०९:०८