कुलमानले गरे पदबहाली, सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको कुलमान घिसिङले पदभार सम्हालु भएको छ । दोस्रो पटक पदभार समाल्न प्राधिकरण पुग्नु भएको कुलमानलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारले नियुक्त गरेसँगै उर्जा जलस्रोत तथा सिँचाइ उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई आजै ४ वर्षे नियुक्तिपत्र प्रदान गर्नु भएको हो ।

एक वर्षअघि उहाँको कार्यकाल सकिएको थियो । तर तत्कालीन केपी ओली सरकारले उहाँलाई पुन: नियुक्ति  दिएको थिएन ।

पदभार ग्रहण गरेसँगै कुलमानले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा सफलता पाएको बताउनु भयो । दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

‘हिजोको टिममा रहेका साथीहरु रिटायर्ड भएका छन्। तर, तल्लो तहमा धेरै प्रतिभावान युवा साथीहरु हुनुहुन्छ। उहाँहरुसँग मिलेर राम्रो रिजल्ट दिने छौं। प्राधिकरणको शिर उचो बनाउन सबै कर्मचारीको ठूलो हात छ। यसको श्रेय तपाईंहरुलाई नै दिन्छु’, घिसिङले भन्नु भयो ।


प्रकाशित | २७ श्रावण २०७८, बुधबार १५:०७