एनआरएनए साउदीको अध्यक्षमा डम्बर कुमार यादव भारि मतले विजयी

रियाद । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरवको अध्यक्षमा डम्बर कुमार यादव विजयी हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा यादवले २२५ मत ल्याउँदै प्रतिस्पर्धी रोशन श्रेष्ठलाई पराजित गर्नु भएको हो । श्रेष्ठले २४ मत मात्रै पाउनु भयो ।

निर्वाचनमा जम्मा ३७६ मत खसेको थियो । जसमा ९ मत बदर भएको थियोे । यस्तै, ११८ मत अनाधिकृत फोन नम्बर र इमेल तथा निर्धारित समयभन्दा पछि प्राप्त भएकोले मान्यता नदिइएको निर्वाचान समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष यादव सिरहा निवासी हुनुहुन्छ । उहाँ झण्डै दुई दशकदेखि साउदीमा कार्यरत हुनुहुन्छ । अन्य पदमा भने यसअघि नै निर्विरोध भइसकेको छ ।

वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षमा रविन अर्याल, राम बहादुर क्षेत्री, अर्जुन थापा, भक्त विर राई, महासचिवमा उमेश भट्टराई, सचिव कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य नारायण केसी निर्विरोध भइसक्नु भएको छ । कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा भने कसैको पनि उम्मेदवार नपरेपछि पदहरु रिक्त भएका छन् ।

त्यस्तैगरि, सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार सिंग, मधु सुदन अर्याल, नरेश कुमार यादव, गणेश अर्याल, निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यसमिति सदस्यमा पनि ७ जनाको पद रहेकोमा ५ जनाको मात्र उम्मेदवारी परेकाले दुई सदस्यको पद भने रिक्त छ ।

उता आइसिसी सदस्यमा भने निवर्तमान अध्यक्ष तेज थापा निर्विरोध हुनु भएको छ भने एक आइसिसी सदस्यको पद पनि रिक्त भएको छ ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार १५:१९