भारत निर्वाचन: नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा चौथो चरणको मतदान सम्पन्न

काठमाडौं; भारतमा संसदीय निर्वाचनको चौथो चरण अन्तर्गत सोमवार नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा मतदान सम्पन्न भएको बीबीसीले जनाएको छ । झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो।

बीबीसीका अनुसार सोमवार महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३ /१३ पश्चिम बङ्गालका आठ, मध्य प्रदेश तथा ओडिशाका छ/ छ, बिहारका पाँच, झारखण्डका तीन र जम्मू(कश्मीरका एक संसदीय क्षेत्रमा मतदान भएका हुन्। भारतको आर्थिक राजधानी मानिने मुम्बईमा पनि मतदान सम्पन्न भएको हो। यसअघि तीन चरणमा गरेर कुल ३०२ क्षेत्रमा मतदान भइसकेको छ। अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ।

यो चरणको मतदान सत्तारूढ भारतीय जनता पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ। यो चरणमा कुल ९४३ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन्। मोदी नेतृत्वको सरकारका केही मन्त्रीहरू गिरिराज सिंह, सुभाष भाम्रे, एसएस अहलूवालिया र गजेन्द्र सिंह शेखावत पनि निर्वाचनमा उम्मेदवार छन्।

मुम्बईका क्षेत्रमा पनि चर्चित व्यक्तित्वहरू प्रतिस्पर्धा गर्दैछन्। भाजपाका दिवङ्गत नेता प्रमोद महाजनकी छोरी पूनम महाजन दिवङ्गत अभिनेता तथा कंग्रेस नेता सुनित दत्तकी छोरी प्रिया दत्तसँग प्रतिस्पर्धा गर्दैछिन्।

बलिउड अभेनेत्री उर्मिला मातोन्डकर भाजपाका गोपाल शेट्टीविरुद्ध उठेकी छन्। चर्चित विद्यार्थी नेता कन्हैया कुमारले बिहारको बेगुसरायमा भाजपाका गिरिराज सिंहलाई चुनौती दिएका छन्। यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ।

लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ। गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो।पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद छानिनेछन्।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू -कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान भएको थियो। तेस्रो चरणमा १४ राज्य तथा केन्द्रशासित स्थानमा गरेर कुल ११५ संसदीय क्षेत्रमा मतदान भएको थियो। तीमध्ये केरलाको वायनाडबाट कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि उठेका थिए। बीबीसी नेपाली सेवाको सहयोगमा


प्रकाशित | १६ बैशाख २०७६, सोमबार २१:२३