एनआरएनए अमेरिका बैठक : सल्लाहकार चयन देखी विद्यार्थीलाई एनआरएनएमा जोड्ने सम्मका निर्णय

न्यूयोर्क । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको सल्लाहकार समितिमा १६ जना चयन भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षता बसेको कार्यसमितिको दोस्रो बैठकले सल्लाहकार समिति चयन गरेको हो । एनआरएनए अमेरिकाको विधानको धारा ८२ बमोजिम संस्थाले आवश्यकता अनुसार सल्लाह र परामर्शका लागि १७ जनासम्मको सल्लाहकार समिति बनाउन सक्ने व्यवस्था गरेको छ । सोही प्रावधान अनुरूप सल्लाहकार समिति चयन गरिएको हो ।

सल्लाहाकार समितिमा गोविन्द श्रेष्ठ, डा. दामोदर पौडेल, नारायण सोमनामे, पवन योञ्जन, वन्दना कोइराला, वीरेन्द्रजङ के.सी, वेद खरेल, भगवान् मैनाली, डा. भरत पोखरेल, भीम कार्की, मञ्जु संग्रौला, रोशन ढुङ्गाना, लोक चेम्जोङ, सागर कँडेल, सुवास घिमिरे र ज्ञानेन्द्र कार्की रहेका छन् ।

बैठकले नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर प्रणाली तथा नेपाल भ्रमण गर्दा लाग्ने प्रवेश शुल्क गैर आवासीय नेपालीका चासो र सरोकार लगायतका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ । यस्तै एनआरएनए अमेरिकाले दीर्घकालीन महत्वका थुप्रै कामका विषयमा छलफल गर्दै बैठकबाट पारित कार्य योजनाहरू अगाडि बढाउने निर्णय भएको छ । छोटो समयमा थालनी र समापन गर्न सकिने तात्कालिक कार्य योजनाहरुमा पनि बैठकमा छलफल र निर्णय भएको थियो ।

योजनाहरूको कार्यान्वयनका लागि कोषाध्यक्ष राजीव श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गर्ने निर्णय भएको छ । दीर्घकालीन महत्वका योजनाहरू मध्ये एनआरएनए अमेरिकाको भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । यसका लागि आवश्यक श्रोत जुटाउन संस्थागत पहलको थालनी गर्ने निर्णय भएको छ । यस्तै बैठकले एनआरएनए अमेरिकाको सदस्यता शुल्कबाट उठेको रकमको २५ प्रतिशत आईसीसीमा जाने निर्णय गरेको छ । यस वर्ष सो रकम नलिइदिन आग्रह गर्दै पत्र पठाउने निर्णय भएको छ ।

बैठकले एनआरएनए अमेरिकाको विधान बमोजिम च्याप्टरका लागि सबै प्रक्रिया पुरा भएका तर अहिलेसम्म दर्ता हुन नसकिरहेका च्याप्टरहरूलाई सम्बन्धित राज्यमा दर्ता गराउन सहयोग र प्रोत्साहित गर्ने पनि निर्णय गरेको छ । यसका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तको संयोजकत्वमा दर्ता प्रक्रिया सहयोग समिति गठन गरिने भएको छ ।

बैठकले एनआरएनए अमेरिकाको सदस्यहरूबाट प्राप्त हुने सदस्यता शुल्क २० डलरको पच्चिस प्रतिशत अर्थात् ५ डलर सम्बन्धित च्याप्टरहरूलाई रकम निकासा गर्ने निर्णय गरेको छ । यसका लागि च्याप्टरहरूले दर्ता लगायतका सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ ।

यस्तै बैठकले अमेरिकामा अध्ययनरत विद्यार्थीहरूलाई एनआरएनएमा सदस्यता दिलाउनको लागि विधि, विधान र नियमावलीमा रहेका व्यवधानहरूलाई हटाउन आइसीसीसँग समन्वय गर्दै आवश्यक पहल गर्न अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा समिति बनाउने निर्णय भएको गैर आवासीय नेपाली सङ् राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता तोया दाहालले जानकारी दिनु भयो ।


प्रकाशित | १५ श्रावण २०७८, शुक्रबार २०:५९