स्थानीय तह निर्वाचनको तयारी तीब्र, अहिलेसम्म १ करोड १९ लाख थान मतपत्र छपाई सकियो

काठमाडौं: निर्वाचन आयोगले अहिलेसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख थान मतपत्र छपाई सकिएको जनाएको छ । आयोगले बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम भने जारी रहेको जनाएको छ ।

आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हुने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेको आयोगले देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरेको छ । देशभर रहेका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको हो ।

आयोगका अनुसार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको जानकारी दिनु भयो । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु जिल्लाका लागि निर्वाचनमा अवश्यक पर्ने सामग्री पठाइएको उहाँले बताउनु भयो ।

अन्य जिल्लामा पनि चाँडै निर्वाचन सामग्री पठाइने उहाँले बताउनु भयो । डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट निर्वाचन सामग्री पठाइने र बाँकी सबै जिल्लामा स्थलमार्गबाट सामग्री पठाइने आयोगले जनाएको छ ।


प्रकाशित | ८ बैशाख २०७९, बिहीबार १७:४५