कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ ?

डा स्मृति श्रेष्ठ

कारोना भाइरसको संक्रमणपछि विश्वमा विभिन्न देशले यस विरुद्धको भ्याक्सिन निर्माण गरेका छन्। अहिले प्रयोगमा आइरहेका विभिन्न कोभिडविरुद्धका भ्याक्सिनहरु कोरोना भाइरसबाट बच्न, कडा रोग र मृत्युदरबाट बचाउन धेरै प्रभावकारी देखिएका छन्।
ऐतिहासिक रुपमा नै बजारमा धेरै छिट्टो आएर ठूलो मात्रामा संसारमै मृत्युदर न्यूनिकरण गर्न भ्याक्सिनले महत्वपूर्ण भूमिका खेलेको छ। तर कोभिडविरुद्धका भ्याक्सिनप्रति जनमानसमा भने विभिन्न तर्क वितर्क र त्रास छ।

भ्याक्सिनले विकराल समस्या निम्त्याउने सम्भावना असाध्यै विरलै भएतापनि यसले गर्ने एलर्जी र छालाको असरप्रति पनि धेरै प्रश्न र चासो छ।

के भ्याक्सिनले साँच्चै एलर्जी गर्छ त ?

अरु विभिन्न औषधिहरु जस्तै कुनै पनि भ्याक्सिनप्रति एलर्जी देखिन सक्छ। कोभिड भ्याक्सिनप्रति पनि संसारमा विभिन्न किसिमका साधारण र कडा एलर्जी देखिएका छन्।

साधारण लक्षणः छालामा डाबर आउने, जीउ चिलाउने घाँटी खसखस गर्ने, आँखा रसाउने आदि। कडा लक्षणः ओठ सुन्निने, छाती भारी हुने, अनुहार रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर घट्ने, दम बढ्ने, मुटुले काम राम्ररी नगर्ने आदि।

एलर्जी किन हुन्छ ?

कोभिड भ्याक्सिनको एलर्जी भाइरसका कारण नभइ भ्याक्सिन बनाउन प्रयोग हुने तत्वहरुको रियाक्सनको रुपमा देखिएको छ। यी रेसिपिएन्ट तत्वहरु PEG (polyethylene glycol र polysorbate) हुन्। यी तत्व फाइजर, मार्डेना, एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन भ्याक्सिनमा छ।
एलर्जी हुँदा तुरुन्तै पनि हुन सक्छ भने केही घण्टा वा दिनपछि पनि देखिएका छन्।

कसलाई भ्याक्सिन एलर्जी हुन सक्छ ?

एलर्जी जसलाई पनि हुन सक्छ। अण्डा, रबर, औषधि, किराहरु, खानेकुरा जस्ता तत्वहरु अहिलेको भ्याक्सिनमा प्रयोग भएका छैनन्। त्यसकारण यी कमन एजर्ली गर्न सक्ने कुराहरु प्रति यदी तपाईलाई एलर्जी छ भने यसले तपाईको जोखिम भने बढाउँदैन। अर्थात तपाईलाई कुनै एलर्जी हुँदैमा भ्याक्सिन प्रतिको जोखिम अरु स्वस्थ मानिसको भन्दा धेरै चाँही छैन। तैपनि पहिले नै धेरै कडा वा विकराल एलर्जीहरु छ भने भ्याक्सिन लगाएको आधा घण्टासम्म खोप केन्द्रमा नै स्वास्थ्यकर्मीको निगरानीमा बस्नु राम्रो हुन्छ।
एकथरी खोपले एलर्जी भएमा अर्को किसिमको खोप पनि अहिले नलगाउने सुझाव छ।

कस्ता व्व्यक्तिहरु बढी सचेत हुने ?

– Atopy वा एटोपी भएमा मानिसहरुमा रियाक्सन हुन सक्ने सम्भावना दुई गुण देखिएको छ। एटोपी भनेको छिटोछिटो रुघा लागिरहने, छाला चिलाउने वा दम हुने हो।

–पहिले कुनै भ्याक्सिन एलर्जी छ भने एलर्जी सम्बन्धी डाक्टरको सल्लाह लिएर खोप लगाउने

– पहिले धेरै कडा एलर्जी भएका र अस्पतालमा जानुपरेका व्यक्ति।

त्यसकारण पहिले नै एलर्जी छ भन्दैमा कोभिड खोप नलगाइ बस्न हुँदैन। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र सरकारले आम नागरकिलाई लगाइरहेको खोप एलर्जी भएकाले पनि लगाउन मिल्छ। खोप लगाइसकेपछि एलर्जी देखिएमा चिकित्सकको सल्लाह र सुझाव भने लिन जरुरी छ। एलर्जी छ भनेर आफूखुशी औषधि खान हुँदैन। यसरी औषधि पहिले नै खाँदा कडा एलर्जीको लक्षण सुरुमै थाहा पाउन सकिँदैन र जोखिम झन् बढ्छ। तर एलर्जी देखिएमा भने तुरुन्त स्वास्थ्यसंस्था पुगेर उपचार सुरु गरिहाल्नुपर्छ। स्रोत -स्वास्थ्य खवर

(अन्तराष्ट्रिय गाइडलाइनमा आधारित)


प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार १६:०८