नेकपा दुई अध्यक्षबीच सहमती खोज्ने प्रयास जारी, तीन घण्टा लामो वार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो चलेको बार्ता सकारात्मक भएको बताइएपनि निस्कर्ष भने अझै ननिस्केको बताइएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । दुई अध्यक्षबीच भोलि बुधबार विहान पुनः बार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि विहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । सोअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको हो ।

सहमतिको खाका तयार गर्न आइतबारको बैठकले चार सदस्यीय अनौपचारिक कार्यदल गठन गरेको थियो । अध्यक्षद्वयलाई सहयोग गर्न जिम्मेवारी पाएका चारजना नेताहरुको बैठक पनि आन्तरिकरुपमा बसिरहेको छ ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहनुभएको छ ।


प्रकाशित | २३ असार २०७७, मंगलवार १५:०७