नेपालमा तेस्रो लहरको जोखिम बढ्यो, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरेको छ । मन्त्रालयले  बिहीबार एक वक्तव्य जारी गर्दै तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको जनाएको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयको भनाइ छ । यस्तै, २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनीएको छ, ‘संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेको देखिन्छ। विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ ।’


प्रकाशित | ७ श्रावण २०७८, बिहीबार १६:४६