उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं: एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । म्यानमारमा जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्ने क्रममा आइतबार नेपाल उज्वेकिस्तानसंग ४-० ले पराजित भयो ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा लगातार ३ गोल खाएको थियो । नेपालमाथि एकतर्फी जित निकाल्ने क्रममा उज्वेकिस्तानले कुर्बोनोभा शानोजाको गोलबाट २१ औं मिनेटमा अग्रता बनाएको थियो ।

खेलको ६७ औं मिनेटमा शानोजाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानको अग्रता २-० को बनाए । ७४ औं मिनेटमा राशिदोभा तोजिनिसोखोनले गोल गर्दै उज्वेकिस्तानको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा खोजिभाले गोल गर्दै उज्वेकिस्तानलाई ४-० को जित दिलाए ।

उज्वेकिस्तानसंग पराजित भएसंगै नेपालको अर्को चरण पुग्ने सम्भावना सकिएको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा मंगलबार म्यानमारसंग खेल्नेछ । यसअघि पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोल अन्तरले पराजित भएको थियो । उज्वेकिस्तानको यो पहिलो जित हो । पहिलो खेलमा उज्वेकिस्तान म्यानमारसंग १-० ले पराजित भएको थियो । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १९:३१