एनआरएनए जर्मनीमा सर्वसम्मतीको प्रयास, सहमतीको लागि बनाइयो कार्यदल

जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीमा पनि सर्वसम्मत नयाँ कार्यसमिति चयनको प्रयास शुरु गरिएको छ । विश्वभरका धेरैजसो देशहरुमा सर्वसम्मत कार्यसमिति चयन भइरहँदा एनसिसी जर्मनीले पनि सहमतीको आधारमा नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

एनआरएनए जर्मनीको अधिवेशन र नयॉ कार्यसमितिको चयनको लागि प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमको नेतृत्वमा निर्वाचन कमिटिले सबै प्रकिया आगाडी बढाए पनि सँगसँगै सहमतीको प्रयास शूरु गरिएको जनाइएको छ ।

एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले निर्वाचन प्रक्रियालाई कुनै असर नपर्ने गरि सहमतीको प्रयास भइरहेको बताउनु भयो । अध्यक्ष न्यौपानेले एनआरएनए जर्मनीमा विगतदेखि नै छुट्टै इतिहास र परम्परा रहि आएकाले सहमतीको प्रयासको लागि कार्यदलको प्रस्ताव गरिएको बताउनु भयो ।

कार्यदलमा आइसिसीका संरक्षक समेत रहनु भएको राम प्रताप थापा सल्लाहकार रहने गरि संस्थांपक अध्यक्ष दिल गुरुंगको संयोजकत्वमा जर्मनीका अग्रजहरु सहितको ४ सदस्यीय कार्यदलको प्रस्ताब गरिएको उहाँले बताउनु भयो । कार्यदलमा पुर्व आइसिसी महिला संयोजक ऊशा शर्मा, पूर्व आइसिसी सदस्य सन्तोष भट्टराई, जर्मनीबाट अनरी रमेश अर्याल रहनु भएको छ ।

‘हाम्रो संस्था मूलभूत रूपमा गैर आवासीय नेपालीहरू र मातृभूमि नेपालको लागि काम गर्ने “सामाजिक संस्था” भएको हुनाले हाम्रो आफ्नै गौरव र सबैको सर्वमान्य, विवादरहित कार्यसमितिको चयन प्रक्रियाको लागि “सहमतिय प्रक्रिया“ जुन निर्वाचन भन्दापनि अझै उत्कृष्ट मानिन्छ। जुन तत्कालीन अवस्थामा यदि सम्भव भएमा, निर्वाचन कमिटीले दिएको सहमतिय प्रक्रियाबाट हुन सक्ने सम्भावनाको समयअवधि भित्र निर्बाचन प्रक्रियाको तालिका र प्रक्रियामा कुनै असर नपर्ने नगरि यससम्बन्धि एक अवसरलाई प्रयोग गर्दै सकारात्मक प्रयास स्वरूप प्रकिया अगाडि बढाउनको लागि कार्यदलको प्रस्ताव गरिएको हो’, अध्यक्ष न्यौपानेले भन्नु भएको छ ।

एनआरएनए जर्मनीमा यही २५ जुलाई मा ८ औं रास्ट्रिय अधिवेशन हुँदैछ । जसका लागि विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्दै उम्मेदवारहरुले चुनावी प्रसार अभियानलाई तीब्र बनाइरहेका छन् ।


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार २१:२८