काठमाडौं: कुबेतबाट १५० जना नेपाली बोकेर आएको विमान त्रिभूवन विमानस्थलमा अवतरण गरेको छ । नेपाली महिलालाई लिएर कुवेत सिटीबाट उडेको जजिरा एयरलाइन्सको विमान बिहीबार मध्याहन्न काठमाडौंस्थित त्रिभुवन विभान स्थलमा अवतरण गरेको हो । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर आउँदै छ ।
पहिलो उडान मार्फत आएका १५० जना सबै महिला रहेका छन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् । अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो । बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन्।
नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाएको हो । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।
गएको शुक्रबार एयर अरेबियाले दुबईबाट १६८ नेपाली कामदार लिएर आएको थियो । यस्तै म्यानमारबाट पनि २६ नेपाली आएका थिए ।
प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार १२:३८