एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा साउन मशान्तभित्र दिने तयारी गरेको हो ।

जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको कार्यालयले जानकारी दिएको छ ।

हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि

इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो । गत जेठ १३ गतेदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको थियो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने कार्यविधि बनाएको थियो ।


प्रकाशित | १ श्रावण २०७८, शुक्रबार ०६:५६