स्पेनिस विङ्गर रेयेसको दुर्घटनामा मृत्यु

एजेन्सी : स्पेनिस विङ्गर जोसे एन्टोनियो रेयेसको सवारी दुर्घटनामा मृत्यु भएको छ । सेभिल्लाले ट्वीटमार्फत निकै दुखद घटना भएको भन्दै यसबारे जानकारी दिएको हो ।  यसअघि सेभिल्ला, एटलेटीको म्याड्रिड, रियल म्याड्रिड र आर्सनलबाट समेत लामो समय खेलेका रेयेस सेभिल्ला सहरमा नै दुर्घटनामा परेका थिए । उनीसँगै दुर्घटनामा उनका नजिकका नातेदारको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

३५ वर्षीय रेयेस सेभिल्लाका लागि ला लिगा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनले कलिलो उमेरमा नै सेभिल्लाको टोलीबाट खेल्दै सिनियर टोलीसम्मको यात्रा तय गरेका थिए । आर्सनलले सन् २००४ मा अपराजित रहेर लिग जित्दा रेयेस टोलीका सदस्य रहेका थिए । उनले रियल म्याड्रिडबाट २००६-०७ को ला लिगा उपाधि पनि जितेका थिए । एटलेटिको म्याड्रिडलाई दुई पटक युरोपा लिग जिताउँदा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १९:३४