सहकारीहरुको व्यवस्थापनमा चाँगुनारायण नगरपालिका आक्रामक, निरन्तर अन्तरक्रिया तथा अनुगमन, राम्रालाई प्रोत्साहन, कानुनको पालनामा कडाई

भक्तपुर:  सहकारी संस्थाहरुले गरेका बदमासी र ठगीका घटनाहरु नेपालमा कुनै नौलो कुरा होइन । नियमनकर्ताले नियमन नगर्दा सहकारीहरु झन् झन् ग्रस्त बनेका प्रशस्तै उदाहरण भेटिएका छन् । अर्कोतर्फ सहकारीहरुले विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै राम्रा कामहरु पनि गरिरहेका छन् ।

सोही कुरालाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको समस्या पत्ता लगाई समाधानका लागि निरन्तर अनुगमन र सीप विकास तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि सहकारीका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिरहेको छ ।

मंगलबार पनि नगरपालिकाले सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रियात्मक कार्यक्रम गर्यो । नगरपालिकाका मेयर जीवन खत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो । सहकारी संस्थाहरुमाझ एक दिने प्रथम त्रैमासिक अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाभित्र सूचीकरण भएका ७१ वटा नै सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका मेयर खत्रीले सहकारी संस्थाहरुसंग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो । मेयर खत्रीले सीप विकास र उत्पादनशील क्षेत्रमा पनि लगानी गर्नका लागि सहकारी संस्थाहरुलाई आग्रह गर्नु भयो । उहाँले कानुनको पालना गर्न सहकारी संस्थाहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत चुरामणी पन्थी, नगरपालिकाका अधिकृत सुरज पौडेल र सहकारी शाखाका प्रमुख शर्मिला पोखरेल लगायतले सहकारी मामपदण्ड, ऐन कानुनको विषयमा भनाई राख्नु भएको थियो ।

प्रमुख प्रशाशकीय अधिकृत चुरामणी पन्थीले कानुनी दायरामा रहेर सबै सहकारीहरुलाई सहजीकरण गर्ने कुरामा नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका अधिकृत सुरज पौडेलले सहकारी समस्या पहिचान चुनौती र अवसर बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कानुनको पालनामा कडाईको रुपमा लाने नगरपालिकाको नीति रहेको छ । यस्तै कानुनले मिल्ने कुरामा नगरपालिकाले सहकारीहरुलाई सहजीकरण गर्ने बताइएको छ । नगरपालिकाभित्र सुचिकृत ७१ वटा सहकारीहरु रहेका छन् । ती सहकारीहलाई व्यवस्थित, पारदर्शी र कमीकमजोरी सुधार्नका लागि नगरपालिकाले अभियानकै रुपमा अनुगमन पनि गरिरहेको छ ।

हालसम्म १३ वटा सहकारी संस्थाहरुको अनुगमन भएको छ । अनुगमनका क्रममा सहकारी संस्थाहरुमा बिना धितो ऋण प्रवाह हुने, भाखा नाघेको ऋणको मात्रा बढ्दै जाने जस्ता समस्याहरु देखिएको नगरपालिकाका अधिकृत सुरज पौडेलले बताउनु भयो ।

समस्याले गम्भिर रुप नलियोस् भन्नका लागि गरिएको अनुगमन प्रभावकारी पनि बन्दै गएको छ । यस किसीमका अन्तरक्रिया तथा अनुगमनका कार्यहरुले समस्याहरुको जड बेलैमा पत्ता लागी समाधानका लागि बाटो खुल्छ । त्यसकारण पनि नियमनकारी निकायले गरेको कार्यले सहकारी संस्थाहरुलाई कानुनको बाटोमा हिड्न कडाई गर्छ भने राम्रा सहकारीहरुलाई अझै राम्रो गर्न हौसला बढाउछ ।


प्रकाशित | २३ आश्विन २०८०, मंगलवार २१:०४