अमेरिकाले दिएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं। अमेरिकाले दिएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । अमेरिकाले  उपलब्ध गराएको खोप एक डोज मात्र लगाए हुन्छ । 

मन्त्री श्रेष्ठले छिट्टै खोप अभियान सञ्चालन गरिने र खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको बताउनु भयो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी गराउनु भयो ।

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले जुनको पहिलोसाता झण्डै ७ मिलियन डोज एसियाका देशलाई प्रदान गर्ने र जुनको तेश्रो साता १६ मिलियन डोज प्रदान गर्ने घोषणा गरेकोमा दुबै घोषणामा नेपाललाई समावेश गरेको थियो । 

भ्याक्सिनले सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी भूमिका खेल्दछ । साथै अन्य भ्याक्सिनको तुलनामा यसको साइड इफेक्ट पनि कम रहेको बताइएको छ ।


प्रकाशित | २८ असार २०७८, सोमबार ११:३०