मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन आग्रह

सुर्खेत – निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।

यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताउनुभयो ।

विसं २०७४ मा सुर्खेतको मतदाता सङ्ख्या दुई लाख चार हजार ५७७ भई हाल दुई लाख ४० हजार ८०१ हुने अनुमान गरिएको बताउँदै प्रदेश निर्वाचन अधिकारी चालिसेले त्यसका लागि सुर्खेतमा १३८ मतदानस्थल, ०७४ सालमा २६३ मतदान केन्द्र बढेर यो चुनावमा २९२ मतदान केन्द्र हुने बताउनुभयो।

कर्णाली प्रदेशका सबै जिल्लाको मतदाता सङ्ख्या, मतदानस्थल र मतदान केन्द्र केही समयपछि उपलब्ध गराइने उहाँको भनाइ थियो ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १२:२८