भोटेकोशी नदीको बाढीले १५ घर बगायो, १९ बेपत्ता, दुईको शव भेटियो

काठमाडौँ : सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ । अहिलेसम्म १९ भन्दा बढी सम्पर्कबाहिर रहेका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले गाती बजार बगाएको हो । गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसे प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११ः३० बजेबाट बाढी आउँदा उक्त क्षति भएको हो ।

बाढीले बगाएका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताउनुभएको छ ।

प्रहरीका अनुसार रातभर परेको वर्षाले तातोपानीस्थित चाकुबजारनजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्रबिसे नगरको जलेटार आर्मी ब्यारेकमुनिको सडक पनि बाढीले बगाएको छ ।


प्रकाशित | २५ असार २०७७, बिहीबार ०८:५८