एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नीति प्रतिष्ठानको अध्यक्षमा शेष घलेलाई चयन गरेको छ । भर्चुअल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी बैठकले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तले पदाधिकारी बैठकले संघको नीति प्रतिष्ठानको अध्यक्षमा घलेलाई चयन गरिएको जानकारी गराउनु भयो । प्रतिष्ठानको अन्य सदस्यहरु चयन गर्ने सम्पूर्ण अधिकार घलेलाई नै दिइएको छ । घलेले चाँडै अन्य सदस्यहरु चयन गर्नु हुनेछ । नेपालको सामाजिक तथा आर्थिक विकासमा सरकारसंग मिलेर नीतिगत पहलकदमीका पक्षमा उहाँले महत्वपूर्ण योगदान गर्नुहुने विश्वास गरिएको छ ।

संघले यसअघि नै एनआरएनए फ्रन्टको संयोजकमा संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र एनआरएनए फाउन्डेसनको अध्यक्षमा संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेलाई चयन गरिसकेको छ । पूर्व अध्यक्षहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेसँगै संघलाई प्रभावकारी रुपमा अगाडि बढाउन थप सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार १७:२५