भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा मनाइदै

बोस्टन, अमेरिका । गैरआवासिय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितीले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा – साहित्य दिवसको रुपमा मनाउदै यस बर्ष ” नेपाली भाषा साहित्यको बिश्वब्यापीकरणको अबस्था र चुनौती ” बिषयक बिचार गोष्ठीको आयोजना गर्दैछ ।

आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्ती मनाउदै उक्त गोष्ठीमा नेपाली भाषा साहित्यको संसारका विभिन्न मुलुकहरूमा भइ रहेको बिस्तार र आएका चुनौतीका बारेमा वरिष्ठ समालोचक एबम साहित्यकार डाक्टर गोबिन्दराज भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना बिचारहरु राख्नु हुनेछ । त्यसैगरी क्यानडाका साहित्यकार डा. गोबिन्दसिंह रावत , म्यान्मारका साहित्यकार लक्षमण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईले यस माथी आफ्ना धारणाहरु राख्नु हुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने गोष्ठीमा नेपाल भित्र र प्रवासबाट साहित्यकारहरु सहभागी हुनुहुनेछ । जुम प्रबिधीबाट संचालन हुने उक्त कार्यक्रम यहि जुलाई ११ आइतबार बेलुकी नेपाल समय ८ बजे प्रसारित हुनेछ ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार १०:२९