देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसमबारे जानकारी दिँदै हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको हो । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


प्रकाशित | २३ असार २०७८, बुधबार ०८:४१