माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु, ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने

काठमाडौं। स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शूरु भएको छ । ७६ मेगावाटका ६ युनिट टर्बाइन रहेको कुल ४५६ मेगावाट जडित क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएको हो।

आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन गर्नु भयो । प्रधानमन्त्री ओलीले आयोजनाको ६ वटा टरबाइनमध्ये एउटा टरबाइनको उद्घाटन गर्नु भएको हो । हाल सबै टरबाइनहरुको प्रयोग परीक्षण भइसकेको छ भने सबै टरबाइनहरु पनि केही समयभित्र सुरु हुने र यसबाट ४ सय ५६ मेगावट विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको हो । ७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण गरेर तयार अवस्थामा राखिएको थियो।

क्रमश बाँकी युनिटबाट पनि उत्पादन गर्दै लैजाने योजना छ। चालु बर्षभित्र दोस्रो युनिट सहित १५२ मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ। बाँकी सबै युनिट आगामी बर्षभित्र जोडिसक्ने योजना छ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ। निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा करिव ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ।

प्राकृतिक विपद् तथा अन्य कारणले ढिलाइ हुन पुगेको आयोजना ५ बर्षमा सक्ने भन्दै उद्देश्यले २०६७ बाट निर्माण सुरु भएको थियो । तर आयोजना ६ बर्ष ढिला गरि पुरा भएको हो।


प्रकाशित | २१ असार २०७८, सोमबार १९:११