दुई महिनापछिको आन्तरिक हवाई उडान: पहिलो दिन बुद्ध एयरले बोक्यो सबैभन्दा बढी यात्रु

काठमाडौं । करिव दुई महिनादेखि ठप्प आन्तरिक हवाई उडान बिहीबारदेखि सञ्चालनमा आएको छ । भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसके पनि ५० प्रतिशत उडानमा विमान कम्पनीहरुले सेवा प्रवाह गरेका छन् ।

सबैभन्दा बढी उडान पाएको बुद्ध एयरले ३१ वटा उडानबाट ३८ सय यात्रुले यात्रा गर्न सक्ने भए पनि बिहीबार ३५ सय मात्र बुकिङ गरेको जनाएको छ ।  नागरिक उड्ययन प्राधिकरणका अनुसार उडान तालिका अनुसार प्रतिघण्टा ७ वटा मात्रै उडान भएकाले विमानस्थलमा यात्रुको भिड नदेखिएको हो ।

प्राधिकरणले काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिएको थियो ।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन्।

प्राधिकरणद्वारा स्वीकृत तालिकाअनुसार काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७÷७, जनकपुर र सिमरा ६÷६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन्। त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ।


प्रकाशित | १७ असार २०७८, बिहीबार १७:२९