टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा

काठमाडौं : ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमा) समुहवाट मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले सचिव पदमा उम्मेदवारी दिनुभएको छ । आगामी भाद्र २० (सेप्टेम्वर ) का दिन आयोजना हुने निर्वाचनमा ढकालले सचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

विगत २२ वर्षदेखि नेपालको पदयात्रा पर्यटन क्षेत्रमा सक्रिय ढकालले स्नातक सम्मको औपचारिक अध्ययन पुरा गरेका छन । व्यवसायीक जीवनकै क्रममा अमेरिका,क्यानडा,अष्ट्रेलिया,जर्मनी,ईटाली लगायत विश्वका तीन दर्जन भन्दा वढि मुलुकको भ्रमण गरिसक्नु भएको ढकाल टानप्रति व्यवसायीहरुको विश्वास घट्दै गएकोमा त्यसलाई उकास्न नै टानको सचिव पदमा उम्मेदवारी दिएको बताउनुहुन्छ ।

टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसँग लविईङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको र त्यसका लागी आँफु र आफ्नो समुह सक्षम रहेको उहाँले बताउनुभयो ।

टानको सचिव पदका उम्मेदवार ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने बतउानुभयो । टिम्सका सम्बन्धमा आवश्यक लविईङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने उहाँको बुझाई छ ।

यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष, पदाधिकारी र सदस्यहरु बिचमा नै मत बाझिएका कारण पनि समस्या समाधान हुन नसकेको उहाँको बुझाई छ । अबको कार्यकालमा त्यस्तो हुन नहुने उहाँले बताउनुभयो ।

“टान सचिवालय लथालिंग हिसावले चलेको जस्तो देखिन्छ,त्यसको सहि व्यवस्थापन पनि आजको प्रमुख जिम्मेवारी हो”–त्यसलाई व्यवस्थापन गर्न सक्षम छु भन्ने लाग्छ, ढकालले भन्नुभयो । त्यसवाहेक हरेक सदस्य कम्पनीहरुको गुनासो सुन्ने र महिनामा एकपटक सदस्यहरुको समस्याका विषयमा टानले उचित समाधानका उपायहरु निकाल्ने कार्यक्रम आँफुले अगाडी सार्ने उहाँले बताउनुभयो ।

नेपालको पदयात्रा पर्यटन क्षेत्र मौलिक किसिमको व्यवसाय रहेको ढकालको बुझाई छ । सरकारले ल्याउने कतिपय अव्यवहारिक निति,नियम यो क्षेत्रका लागी उपयुक्त नहुने भएकोले सरकारसंग आवश्यक लविईङमा टान नेतृत्वले ध्यान दिनुपर्ने समेत बताउनुभयो ।“हालै मात्र आएको पोर्टरले पनि प्यान विल दिनुपर्ने जस्ता विषय व्यवाहारिक रुपमा सम्भव छैन,यसमा टानले सरकारलाई यस व्यवसायको प्रकृति र विशेषता वारेमा बुझाउन आवश्यक छ”–यसका लागी पहल गर्नुपर्छ भन्ने उहाँलाई लाग्छ ।

त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टानले ल्याउनुपर्ने र सरकारलाई दिनुपर्ने आवश्यक सुझाव र समन्वयका लागी पनि आँफु उपयुक्त पात्र रहेको ढकालले बताउनुभयो ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १३:००