सगरमाथाको उचाइ कति कायम होला ?

  • डा. प्रकाशकुमार श्रेष्ठ

समुद्र सतहदेखि नाप्दा हालसम्मको विश्वको अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्मा हो, जुन हिमचुचुरो नेपाल र चीनको सिमानामा अवस्थित छ । तर, पानीढलोका आधारमा विश्वको अग्लो हिमचुचुरो सगरमाथाको मुख्य भाग नेपालको मान्न चीन सहमत भएको थियो भने उत्तरतर्फ आफ्नो हक लाग्ने चीनले सहमति गरेर सधैंका लागि छिनोफानो गरेको थियो, तत्कालीन राजा महेन्द्रको पालामा । तर, सगरमाथाको उचाइ भने फरक–फरक कायम भएको छ । जस्तो, नेपालले ८ हजार ८ सय ४८ मिटर मानेको छ भने चीनले ८ हजार ८ सय ४४ मिटर मानेको छ । अझ अमेरिकालगायत सात समुद्रपारिका केही देशले त सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर मानेको छ ।

यसरी विश्वको अग्लो हिमचुचुरो सगरमाथाको उचाइका बारेमा पटकपटक विवाद आइरहने हुनाले गत वर्ष नेपाल सरकारले सगरमाथाको उचाइ नाप्ने निर्णय ग-यो । त्यसका लागि आवश्यक बजेट छुट्ट्याएअनुसार यो वर्ष नापी विभागका कर्मचारीहरू खटिएर गएका छन् । पछिल्लो समाचारअनुसार ८ जेठ, २०७६ मासगरमाथाको उचाइ नाप्ने नापी विभागको टोलीका सदस्यहरू चुचुरोमा पुगिसकेका छन् । त्यसैले अबको केही दिनमै सो टोली काठमाडौ फर्केर आपूmहरूले अध्ययन गरेर पत्ता लगाएको सगरमाथा अर्थात् चोमोलुङ्माको नयाँ र वास्तविक उचाइ के कति हो ? भनी सार्वजनिक गर्ला नै ।

हुन पनि अबका दिनमा सगरमाथा केवल नेपाल र नेपालीका लागि नभएर संसारभरिकै मानिसका लागि गौरवको विषय भएको छ । अझ विश्वभरिका साहसिक पर्वतारोहीहरूका लागि त सगरमाथा एकपटक चढ्न सके विश्वसामु आफ्नो शिर ठाडो पार्ने अवसर मात्रै नभएर इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउने अवसर पनि हो । त्यसैले उनीहरू सगरमाथालाई एकपटक मात्रै चुम्न पाए पनि आपूmलाई धन्य ठान्छन् ।
खासमा सगरमाथाको नापजाँचको कुरो गर्दा पहिलो पटक सन् १८५२ मा सगरमाथाको विषयमा खोज–अनुसन्धान सुरु भएको थियो । सँगसँगै सगरमाथाको उचाइका बारेमा पनि खोज–अनुसन्धान र नाप–चा“च हँुदै गयो । त्यस क्रममा पटक–पटक सगरमाथाको उचाइ नाप्ने क्रम चल्यो ।
यसरी सगरमाथाको उचाइ नाप्ने क्रममा सन् १८५२ मा ८ हजार ८ सय ४० मिटर, सन् १८५४ मा ८ हजार ८ सय ४८ मिटर, सन् १८८० देखि १९०२ सम्म ८ हजार ८ सय ८२ मिटर, सन् १९९९ मा ८ हजार ८ सय ५० मिटर र पछिल्लो पटक सन् २००६ मा चीन सरकारले गरेको अध्ययनअनुसार ८ हजार ८ सय ४६ मिटर मानिएको छ । तापनि नेपाल सरकारले भने हालसम्म ८ हजार ८ सय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाई मान्दै आएको छ । फ्रेन्च लेखकद्वय ए. पोउसबिन र एस. टेसोनले भने आफ्नो पुस्तकमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४६ मिटर नै लेखेका छन् । उता ‘वेस्टरम्यान’ नामक विदेशी संस्थाले छापेको विश्वको नक्सामा चाहिंँ सगरमाथाको उचाइ ८ हजार ८ सय ७२ मिटर उल्लेख गरिएको छ । यसरी सगरमाथाको उचाइ कहिल्यै एकनासको भएन !

हाल नेपालीहरूमाझ सगरमाथा र विदेशीहरूमाझ एभरेस्टका रूपमा चिनिने सगरमाथाको सुरुको नाम चोमोलुङ्मा हो । सम्भवतः पहिलो पटक ‘सगर’+‘माथा’ सगरमाथा भनी इ.सं. १९३८ मा बाबुराम आचार्यले ‘शारदा’ (वर्ष ४ अंक ५) मा एक लेख लेखेर चोमोलुङ्माको खस नेपाली भाषामा ‘सगरमाथा’ नाम रहन गयो । जबकि हजारौं वर्ष अघिदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका किराँती कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिले पनि चोमोलुङ्मा भनेरै पुकार्छन् । किराँतहरूको येले संवत् नै हाल ५०७९ चल्दै छ । त्यसैले अब सरकारले सगरमाथाको नाम पनि चोमोलुङ्मा राख्नका लागि उदारता देखाएमा कुलुङ, शेर्पा आदि आदिवासी जनजातिप्रति न्याय हुने थियो कि ?
–निनाम कुलुङ ‘मंगले’


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १२:१५