एनआरएनए अष्ट्रेलिया बन्यो अमेरिका पछिको दोस्रो ठूलो एनसिसी, सदस्य संख्यामा उल्लेख्य वृद्धि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको छ । एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो । अमेरिकामा २० हजार १३९ जना सदस्य छन् । एनआरएनएका विश्वभर ८० भन्दा बढी एनसिसी छन् ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार  यो पटक आजीवन सदस्यता लिनेहरुको संख्या १५ सय ५० पुगेको छ भने १४ हजार ३ सय २८ जना रजिष्टर मेम्वर छन् । त्यसैगरी २ सय ८७ जना एसोसियट मेम्वर रहेका छन् । अहिले सदस्यता दर्ता गराएका आवेदकहरु (एसोसियट बाहेक)ले निर्वाचनको मतदान प्रकृयामा सहभागि हुन पाउनेछन् । सोमबारदेखि सदस्यता प्रमाणीकरणको प्रक्रिया शूरु गरिने अध्यक्ष कँडेलले जानकारी गराउनु भयो ।

एनआरएनए अष्ट्रेलियामा अघिल्लो निर्वाचनमा ११ हजार ६ सय जना पञ्जीकृत सदस्य थिए । यो पटक अघिल्लोे वर्षको भन्दा ४ हजार ५७८ जना सदस्य संख्यामा बृद्धि भएको हो । एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई ३१ तारिखमा हुँदैछ ।


प्रकाशित | १३ असार २०७८, आईतवार २१:००